Sita Ramesh Multiple Campus

४ दिवसीय उद्यमशीलता विकास तथा व्यवसायिक योजना निर्माण तालिम कार्यक्रममा सीता रमेश बहुमुखी क्याम्पसका विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको

16 hour(s) ago

बुद्धशान्ति गाउँपालिकाको सहयोगमा चेतना सामुदायिक सिकाई केन्द्र, बुधबारेले आयोजना गरेको ४ दिवसीय उद्यमशीलता विकास तथा व्यवसायिक योजना निर्माण तालिम कार्यक्रममा सीता रमेश बहुमुखी क्याम्पसका १५ जना विद्यार्थीहरुको सक्रिय सहभागिता रहेको थियो।

उक्त तालिम कार्यक्रम उद्यमशील सोच विकास गर्न तथा भविष्यमा व्यवसाय सञ्चालन गर्न इच्छुक विद्यार्थीहरुका लागि लक्षित गरिएको थियो। तालिमको मूल उद्देश्य सहभागीहरुलाई सैद्धान्तिक तथा व्यवहारिक रुपमा व्यवसाय सुरु गर्ने तरिका, त्यसको योजना कसरी तयार गर्ने, बजार अध्ययन कसरी गर्ने, पूँजीको व्यवस्थापन, जोखिमको मूल्याङ्कन, र ग्राहकसँगको सम्बन्धजस्ता विषयमा जानकारी दिनु रहेको थियो।

तालिम अवधिमा विद्यार्थीहरुले निम्न कुराहरू सिक्ने अवसर पाए:

  • व्यवसायिक सोच र उद्यमशीलताको महत्त्व

  • साना तथा मझौला उद्यमको सुरुवात गर्ने प्रक्रिया

  • व्यावसायिक योजना (Business Plan) को संरचना र त्यसको तयारी विधि

  • बजेटिङ, लागत विश्लेषण र वित्तीय स्रोतको व्यवस्थापन

  • स्थानीय बजार र ग्राहकहरूको आवश्यकताको पहिचान

सीता रमेश बहुमुखी क्याम्पसका १५ जना विद्यार्थीहरुले कार्यक्रमभरि उत्साहपूर्वक सहभागिता जनाए र विभिन्न समूहगत कार्य, अभ्यास तथा प्रस्तुतिमा समेत अग्रसरता देखाए। तालिम पश्चात् सहभागी विद्यार्थीहरुले आफुले उद्यमशीलता र व्यवसायिक योजना निर्माणसम्बन्धी महत्वपूर्ण सीप तथा ज्ञान प्राप्त गरेको प्रतिक्रिया दिएका छन्। उनीहरुले भविष्यमा आफैँ व्यवसाय सञ्चालन गर्न यो तालिम उपयोगी भएको उल्लेख गरेका छन्।

यस तालिममार्फत विद्यार्थीहरुले स्व–रोजगारको सम्भावना देखेका छन् र आफ्ना सीप तथा रुचिका आधारमा व्यवसायको कल्पना गर्न थालिसकेका छन्। यस किसिमका तालिमहरु विद्यार्थीहरुको व्यावहारिक ज्ञान वृद्धि गर्न, आत्मनिर्भर बन्न प्रेरित गर्न तथा स्थानीय आर्थिक विकासमा समेत टेवा पुर्‍याउने विश्वास गरिएको छ।